‘जीवनी’ संग्रह (भाग १) को पृष्ठभूमि

  • रामबहादुर बुढा

मैले फरक फरक  समयमा लेखेका र प्रकाशित भएका विभिन्न व्यक्तिहरुको जीवनीलाई मनु वि.क. प्रकाशक रही “जीवनी संग्रह (भाग–१)” पुस्तकका रुपमा भर्खरै प्रकाशनमा आएको छ । यस पुस्तकमा १६ जनाको जीवनी संकलन गरिएको छ । कुन पृष्ठभूमिमा वा कस्तो अवस्थामा ती जीवनीहरु लेखिएका थिए भन्नेसम्म नै यो संक्षिप्त लेख सीमित रहनेछ ।

एम.ए. राजनीतिशास्त्रको शोधपत्र “चित्रबहादुर के.सी.को राजनीतिक जीवन र व्यक्तित्व” बाट एउटा अंश जीवनी खण्डलाई यस पुस्तकमा राखिएको छ । सोध निर्देशक सहप्राध्यापक डा. खड्गबहादुर के.सी.ले इतिहासका कुरा भन्दा पनि विश्लेषणात्मक हुनुप¥यो भनेर त्यतिबेला सल्लाह दिनु भएको थियो । वास्तवमा त्यो पुस्तकमा चौथो महाधिवेशन÷मसाल धारको इतिहासलाई आधिकारिक कागजातहरु सर्कुलर, दस्तावेजका आधारमा लेखिएको छ । ती सबै नभएर केवल जीवनी परिचय खण्डलाई मात्र यहाँ संग्रहमा राखिएको छ ।

निरन्जन गोविन्द वैद्य नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य हुनुहुन्थ्यो । २०६० सालमा प्रतिगमनका विरुद्ध ५ दलको काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको थियो । त्यो आन्दोलनमा म पनि पाल्पाबाट सहभागी हुन काठमाडौं आएको थिएँ । दिनमा जुलुश, सभा, आन्दोलन हुन्थ्यो । विहानमा फुर्सद हुन्थ्यो । फुर्सदको समय प्रयोग गरेर म पुतलीसडकस्थित निरन्जन गोविन्द बैद्यको घर गए । उहाँ विमारी हुनुहुन्थ्यो । तैपनि उहाँ मलाई अन्तर्वार्ता दिन तयार हुनुभयो र कतिपय अन्य महत्वपूर्ण सामग्री पनि मलाई उपलब्ध गराउनु भयो । कतिपय स्पष्ट हुन नसकेका कुराहरु बुटवलबाट फोन गरेर भए पनि जानकारी लिए । दुई विहान गरेको कुराकानी र पछि फोनमा समेत गरेको कुराकानीका आधारमा त्यो जीवनी तयार भयो । अखिल (एकीकृत) पाल्पाको मुखपत्र “युगप्रवाह” अंक ६, २०६१ मा उहाँका जीवनी प्रकाशित भएको थियो । वैद्यजीको २००६ मा राजाद्वारा  सत्ता कब्जाका बेला तत्कालीन पार्टी महासचिव केशरजंग रायमाझीको भूमिका सम्बन्धी अनुभव पढ्न लायक अनुभव रहेका छन् ।

खगुलाल गुरुङ नेपाल कम्युनिस्ट पार्टी प्यूठानका संस्थापक सदस्यहरु मध्ये एक हुनुहुन्थ्यो ।  सानै उमेरदेखि उहाँलाई मैले चिनेको भए पनि २०५४ को किसान मार्चमा लामो समय संगत गर्न पाएको थिएँ । जनजाति सम्मेलनको तर्फबाट हामीले उहाँलाई प्यूठानको नारीकोटमा एक सम्मान कार्यक्रम राखेका थियौं । अखिल (छैठौं) पाल्पाको मुखपत्र युगप्रवाह, जनजाति सम्मेलनको मुखपत्र जनजाति आवाज, हाँक साप्ताहिक र सम्मान कार्यक्रममा वाचनका लागि सामग्री विभिन्न सन्दर्भमा खगुलाल गुरुङबारे मैले लेखेको थिएँ । यस संग्रहमा परेको रचना चाहिं जनजाति आवाजबाट लिइएको हो ।

२०६९ सालतिरको कुरा हो । एक दिन मलाई कृष्ण अधिकारीले भन्नुभयो, “राष्ट्रिय जनमोर्चाको क्षेत्रीय प्रकाशन गण्डकी–धवलागिरी आवाज प्रकाशन गर्न थालिएको छ । जीवन शर्माबारे एउटा सामग्री तयार  पार्नुस ।” मैले त्यससलाई सहर्ष स्वीकार गरे । डिल्लीबजार स्थित जनजाति सम्मेलनको कार्यालयमा जीवन शर्मालाई बेलाएर दिनभरी कुरा गरियो । शर्माजीको जीवनी तयार भयो । धर्मराज थापा नेपालको लोक गीत र संगीत एवं लोक साहित्यलाई संरक्षण र विकास गर्न निकै ठूलो योगदान पु¥याएका व्यक्ति हुनुहुन्छ । “जनकविकेशरी”  पदावलीबाट उहाँ त्यत्तिकै विभूषित हुनु भएको हैन । जीवनको उत्तरार्धकालमा धर्मराज थापाको चेत गुमिसकेको थियो । तैपनि कृष्ण अधिकारीले थापाका छोरा र परिवारको  सहयोगमा केही सामाग्री जुटाएर लिनु भएको थियो । मसँग पनि केही सामग्री थिए । अधिकारी र मसित भएका सामग्रीहरुलाई जोडेर धर्मराज थापाको जीवनी तयार भयो । वास्तवमा धर्मराज थापाको जीवनी कृष्ण अधिकारीजी र म दुवैको संयुक्त लेखन हो । थापाको जीवनी २०७१मा राष्ट्रिय जनमोर्चाको क्षेत्रीय प्रकाशन गण्डकी धवलागिरी आवाजमा छापिएको थियो ।

बागलुङ दुदिलाभाटीका पितम्बर राना ब्रिटिसस आर्मीमा छँदा मलायाको विद्रोहलाई दमन गर्न ब्रिटिस सरकारद्वारा त्यहाँ पठाइनु भएको थियो । तर उहाँ मलायाका विद्रोही कम्युनिस्टहरुबाट प्रभावित हुनुभयो र नेपाल आइसकेपछि कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउनु भयो । २०७२ सालमा म पितम्बर रानाको घर पुग्दा उहाँको चेत हराइसकेको थियो । उहाँका छोरा लालबहादुर रानाको सहयोगमा मैले पितम्बर रानाकी संक्षिप्त जीवनी तयार पारे । हाँक साप्ताहिकले त्यसलाई प्रकाशित गरेको थियो ।

नेकपा (मसाल) को आठौं महाधिवेशन २०७६ जेष्ठमा सम्पन्न भएको थियो । महाधिवेशन पूर्व २०७५ सालमा जिल्ला जिल्ला–जिल्लामा फोरमहरु संचालन भएका थिए । त्यस सिलसिलामा प्यूठान गएका बेला म रोल्पा खुंग्रीस्थित जितेन्द्र सिंहको घर पनि पुगेको थिएँ । २०७२ को वैशाखमा उहाँलाई प्यारालाइजले हान्यो । म एक रात जितेन्द्र जी कै घरमा बसेर जेनतेन उहाँका कुरा सुन्दै उहाँको जीवनी तयार पारे । त्यसलाई हाँकले र पछि राजमो रोल्पाको प्रकाशनले पनि त्यसलाई प्रकाशित गरेको थियो । जितेन्द्रजी अहिले पनि प्यारालाइजबाट गम्भीर विरामी हुनुहुन्छ ।

टेकबहादुर आले राष्ट्रिय जनमोर्चा पर्वतका अध्यक्ष हुनुहुन्थ्यो र जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार पनि । २०७१ साल कार्तिक २ गते उहाँको निधन भएको थियो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पोखरा मनिपाल हस्पिटलमा उपचार गराइरहनु भएको थियो । म कार्तिक १ गते नाइट बस चढेर  काठमाडौंबाट पोखरा उहाँलाई भेट्न पुगेको थिएँ । कार्तिक २० गते विहान म पुगें । उहाँलाई बोल्न गाह्रो थियो । तैपनि सुतिसुति बेडबाट मेरा प्रश्नका उत्तर दिनु भयो । पछि स्याङजाबाट लालबहादुर राना र खुम राना आउनु भयो, त्यसमा पोखराबाट दीपक गुरुङ पनि सामेल हुनुभयो । सामुहिक फोटो खिचाएपछि हामी विदा भयौं ।  म काठमाडौं फर्किएँ । काठमाडौं फर्किदै गर्दा धार्केको उकालोमा मैले जानकारी पाएँ –“आलेजीको मृत्यु भयो ।” तेस्रो साइकल किमो चढाएपछि उहाँको निधन भयो । उहाँको जीवनी “जनजाति आवाज” मा छापियो र हामीले जनजाति सम्मेलनका तर्फबाट आलेजीको विस्तृत रुपमा “स्मृति ग्रन्थ” पनि प्रकाशित ग¥यौं ।

२०६१ सालको भाद्र असोजतिर म करिब १ महिना विद्यार्थी संगठनको कामको सिलसिलामा अर्घाखाँचीमा बिताएको थिएँ । पश्चिमतिरका कार्यक्रम सकाएर पूर्वतिर आउँदै गर्दा सुरसिङगतिर एक जना बृद्ध उमेरका निकै क्रान्तिकारी स्पीरिट भएका व्यक्तिसित भेट भयो । उहाँ हुनुहुन्थ्यो–यज्ञप्रसाद मरासिनी । उहाँका जीवनका अनुभवहरु टिप्दै जाँदा उहाँको जीवनी नै तयार भयो । म अर्घाखाँचीबाट पाल्पा आएँ र त्यो सामग्री हाँकलाई पठाइदिएँ । हाँकले मरासिनीजीको जीवनी प्रकाशित ग¥यो ।

मोतिप्रसाद मिदुन सुर्खेतमा कम्युनिस्ट पार्टीका संस्थापकहरु मध्येका एक हुनुहुन्छ । २०६९ सालमा सुर्खेतको लेकफर्सा पुगेको बेला मैले मिदुन जीसित अन्तर्वार्ता लिएको थिएँ । अन्तर्वार्ताका आधारमा जीवनी तयार पारियो र त्यसलाई हाँकले प्रकाशित ग¥यो । २०७६ मा मसालको जिल्ला सम्मेलनमा प्यूठान पुगेका बेला मैले माडी खोलाका थमन बुुढासित अन्तर्वार्ता लिएँ । उहाँ पंचायतकालमा गिरफ्तार हुँदा बखतका पक्राउ पुर्जीदेखि, जेल चलान र रिहाई पुर्जी सल्यान जेलका सामूहिक फोटो लगायतका सामग्री उपलब्ध गराउनु भयो । त्यसलाई “जनजाति दृष्टिकोण” ले छापेको थियो ।

रेम राना, विरबहादुर गोले, केवि थापाको जीवनी जनजाति आवाजका लागि र मनमाया थापा र जीवन रानाको जीवनी “जनजाति दृष्टिकोण” का लागि तयार गरिएका थिए । प्रकाश थापामगर र चन्द्रा थापामगरले कम्प्यूटरको कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्नु भएको छ । उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ । यस प्रकाशनका लागि विभिन्न सहयोगी मनहरुलाई धन्यवाद भन्नै पर्छ । पाठकहरुलाई यस पुस्तकबाट थोरै भए पनि अनुभव, ज्ञान र जानकारी प्राप्त भएको महशुस भएमा यस प्रकाशनको महत्व रहने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित