कम्युनिस्ट आन्दोलनको सही समीक्षा गर्दै अघि बढौं ⁄

नारायण शर्मा

धेरै देसहरुमा क्रान्तिपछि प्रतिक्रान्ति भएका छन् । यस्तो हुनुमा पार्टी र राज्यसंग सम्बन्धित  नेता–कार्यकर्ता र तिनका नीति, निर्णय, निर्देशन र नियतमा रहेका कमीकमजोरीहरु त मुख्यरुपले जिम्मेवार हुनेनै भए । साथै तिनमा भएका वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विचलन र बदमासी पनि त्यत्तिकै महत्वपूर्ण कारणहरु हुन् । त्यसमाथि पनि मुख्य नेतृत्वपंक्तिको सैद्धान्तिक, व्यावहारिक र अनुभवजन्य केही हदसम्म स्वाभाविक कमी, कमजोरी र गल्तीहरु हुनु पनि केही हदसम्म स्वाभाविक नै हुन्छ ।

तर यस्ता आत्मगत र उपरीसंरचनागत कारणका साथै अन्य केही गम्भीर महत्वका बाह्य र बस्तुगत कारणहरु पनि त रहेकै होलान् !? खासगरी उत्पादनप्रणाली, उत्पादक शक्ति र  उत्पादनसम्बन्ध जस्ता महत्वपूर्ण  आर्थिक आधार आदिमा परिवर्तन र विकास गर्ने अनि जनता र राज्यलाई सबै दृष्टिले सबल र सफल पार्ने जस्ता राज्य र पार्टीका  सामाजिक व्यवहारसंग सम्बन्धित गतिविधिहरु हुन वा गर्न नसक्नुजस्ता कारणहरु पनि  रहेका छन् ।

नेपाल र विश्वका कम्युनिस्ट आन्दोलनहरुमा उपरोक्त  सबै पक्षको तथ्यपरक, वस्तुनिष्ठ र बैज्ञानिक रुपले समग्र र गहन  अध्ययन–अनुसन्धान र विश्लेषण–संश्लेषण  गरी सही समीक्षात्मक निष्कर्षमा पुग्नु पर्ने अहिलेको कुनै देसको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेतृत्वलाई टड्कारो आवश्यकता परेको छ । यसै दिशातिर हाम्रा नेता, अध्येता, अनुसन्धाता, बुद्धिजीवी, प्राध्यापक र लेखकहरुले ध्यान, ज्ञान र ज्यान दिन पाए कसो होला ?

निश्चय पनि राम्रै होला । त्यसो भए लौन केही गरौं न कामरेड, नामरेड र दामरेडहरु ! कामको लागि, नामको लागि वा दामकै लागि भएपनि यससम्बन्धी तथ्यमा आधारित सत्य पत्ता लगाएर पस्किदिए त कम्युनिस्ट आन्दोलन यसरी विचलित, विकृत, विसङ्गत र वदनाम हुँदै विशृङ्खलित, विघटित र विसर्जित  हुन पुग्थेन कि ? नत्र त कम्युनिस्ट पार्टीकै मुख्य नेतृत्वबाटै साम्राज्यावाद–विस्तारवाद र प्रभुत्ववादको विकासमा प्रत्यक्ष–अप्रत्यक्ष जोड गर्ने र आफैले तिनको अनुशरण गर्ने विडम्बना पो भैरहने भो त ! फलस्वरुप तिनै शक्तिकेन्द्रलाई आदर्श मानेर तिनको दलाल र दास बन्ने अनि आफ्नै कम्युनिस्ट पार्टी, नेता, कार्यकर्ता र जनताको  आन्दोलनमाथिनै  प्रतिबन्ध, दमन, धरपकड र हत्याहिंसा जस्ता जघन्य अपराधहरु गर्ने परम कृतघ्न गद्दार पो बन्ने भए त कम्युनिस्ट पार्टी र आन्दोलनका क्रान्तिकारी भनिएका नेता–शासकहरु त !? यसरी पार्टी र  राज्यका क्रान्तिकारी मानिएका मुख्य नेतृत्व पंक्तिबाटै प्रतिक्रान्ति गर्ने दुखदतम विडम्बना दोहोरिरहने भयो ! होशियारी, खबर्दारी आदि जे जे गर्नु पर्छ र गर्न सकिन्छ, त्यही, त्यही गरौं र अघि बढ्ने हिम्मत गरौं है सचेत, स्वच्छ, स्वाभिमानी, स्वनिर्भर, स्वविवेकी र साहसी साथीहरु ! अन्यथा हामीलाई पनि इतिहासले क्षमा दिने छैन ! 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित