नगरपालिकाभित्रको विवाद अन्त्य गर्न माग

तनहुँ । व्यासनगरपालिकाको प्रशासकीय प्रमुख र कर्मचारीबीच भएको विवादलाई अन्त्य गर्न माग गर्दै जिल्लामा क्रियाशील दलहरुले प्रेस विज्ञप्ती जारी गरेका छन् । २०७९–९–२३ गते जारी विज्ञप्तिमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी), नेकपा (मशाल( , जनता समाजवादी, नेकपा (बहुमत) ले संयुक्त रुपमा प्रेस विज्ञप्ति  जारी गर्दै प्रशासकीय प्रमुख र कर्मचारी बीचमा भएको विवाद र नगरपालिकामा रहेको बेथिति, विसंगतिको विरोध गर्दै सामाजिक संजालमा देखिएको टिका टिप्पणीले आफुहरुको ध्यान आकर्षित भएको बताएका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ–“स्थानीय तह संचालन ऐन निर्देशिकाको परिधिभित्र रहेर व्यास नगरपालिकाको हितमा काम गर्नु सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको अनिवार्य दायित्व हो ।

लामो समयदेखि व्यास नगरपालिका भित्र बेरुजु,  अनियमितता, मनोमानी ढंगमा कर्मचारी नियुक्ति, जनप्रतिनिधि र कर्मचारीहरुको पक्षपातपूर्ण व्यवहार, फजुल खर्च, भोजभतेर जस्ता क्रियाकलापबाट बदनामी हुँदै आएको सर्वविदितै छ । यस्ता खालका क्रियाकलाप सच्याउनका लागि हामी सम्पूर्ण पार्टीहरुले बारम्बार झकझक्याउने काम गरिरहेकै छौं । तर पनि व्यास नगरपालिकाको बेथिति झन्झन् बढ्दै गएको छ । यस्तो अवस्थामा व्यास नगरपालिका नेतृत्वबाट सुधारको लागि हिम्मतीलो कामको सुरुवात हुनेछ भन्ने कुराको अपेक्षा आम नगरवासीले गरेका छन् । यो अपेक्षामा व्यास नगरपालिकाका कर्मचारीहरुको सहयोग सद्भाव रहने जुन अपेक्षा थियो त्यसमाथि कुठराघात भएको छ– प्रशासकीय प्रमुखको नम्बर प्लेट झिक्ने, चावी खोस्ने, अभद्र व्यवहार गर्ने, अपशब्द प्रयोग गरी गाली गलौज गर्ने जस्ता क्रियाकलाप स्थानीय तहका कर्मचारीका लागि शोभनीय कार्य होइन र यस घटनाप्रति आम नगरवासीको चासोलाई सम्बोधन गर्दै हामी सम्पूर्ण पार्टीहरु उक्त घटनाको घोर निन्दा गर्दै तत्कालै सर्वदलीय बैठक मार्फत् नगरपालिका भित्रका बेथिति र विकृतिको अन्त्य र कर्मचारी बीचमा हार्दिकता पैदा गर्नका लागि नगरपालिकाको नेतृत्वबाट पहलकदमी हुनेछ भन्ने अपेक्षा राख्दछौं । यसलाई बेलैमा सम्हाल्न नसक्दा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी नगरपालिकाको नेतृत्व स्वयं नै हुने कुरामा सचेत गराउन चाहान्छौं ।”

–सन्जु सन्दास

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित