पोखरामा १३२ औ माओ दिवस तथा सन्देश सभा सम्पन्न ।

पोखरा ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीको आयोजनामा ४ नम्बर प्रदेश अन्तर्गत कास्की जिल्लाको सदरमुकाम पोखरामा २०८१साल पौष ११ गते १३२ औं माओ दिवस तथा एकता महाधिवेशनको सन्देश सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि हरिभक्त कडेलले भर्खरै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनले पास गरेका सैद्धान्तिक, सामरिक र राजनैतिक विषयका बारेमा जानकारी गराउँदै महाधिवेशनले तय गरेका थप विषयको बारेमा समेत जानकारी गराउनु भएको थियो । माओ दिवसको सन्दर्भमा माओले माक्र्सवाद र लेनिनवादको योगदानलाइ विकास गर्दै आफ्नो देशको अर्धऔपनेवेशिक र अर्धसामान्ती अवस्थाको देशको अवस्थालाई मनन गरी मौलिक विशेषता सहितको नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको बताउनु भयो ।
माओको योगदानको सार्वभौम बुझाइमा एकरुपता कायम रहेकोले माओवाद वा विचारधाराकोबीचको पदावली प्रयोगको विषयमा मतभेद रहे पनि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद एक मतले पारित गरेको बताउदै आफ्ना मत सुरक्षित राख्दै निश्चित समय र सन्दर्भमा खुल्ला रुपले छलफलमा जान सकिने बताउनु भयो । त्यस्तै राज्यको पुनर्संरचनाको वारेमा पनि पहिचान सहितको संघीयता भएता पनि खुल्ला बहसमा जान सकिने गरी नीति पारित भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का कास्की जिल्ला सम्योजक विश्व प्रकाश लामिछानेले तीन पार्टी बीचको एकताले नयाँ सन्देश दिएको बताउनु भयो । कतिपय सवालहरुमा पोखरामा संयुक्त मोर्चाबन्दी गर्दै आन्दोलन हाँकेको स्मरण गर्दै सबै कम्युनिस्ट एकै ठाउमा हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष हर्क बहादुर गुरुङ, नेकपा (एकीकृत समाजवादी)का पोखरा महानगरका उपाध्यक्ष प्रेम थापा लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।शहिदहरु प्रति एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी बिक्रम थापाको अध्यक्षता,दिपक गुरुङको सन्चालन र जिल्ला सहसेक्रेटरी भिम बहादुर श्रीसको स्वागत मन्तव्य रहेको थियो । कलाकारहरु काजिबाबु श्रेष्ठ र सुशीला थापाले बिच बिचमा जनवादी गीतहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित