– शेर सिंह
भनिन्छ “समय आउँछ तर पर्खदैन ।” समयले मानिस को जिबनमा अतिनै महत्व राख्छ । सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महिना र साल बितेको थाहै हुँदैन । मान्छेको जीवन पनि यस्तै घडीको सुइ जस्तै बितेको थाहै हुँदैन । त्यसैले भनिएको हुनुपर्छ– समय आउँछ तर रोकिदैन । हामी कुरा गर्छौ समाजवाद र साम्यवादको । तर त्यो खाली किताबमा मात्र लेखेको कुरालाई हामीले दिनको दश चोटी पढेर मात्र समाजवाद र साम्यवाद आउँदैन । त्यसको लागि त हामी समय अनुसार नै चल्न सक्नुपर्छ । हामीले केन्द्रको, क्षेत्रको कुरा गर्छौ । तिनी त संगठनका तह हुन्, अर्थात् माथिल्ला समिति हुन् । तर जुन हामीहरुले सोच्दछौ कि म त केन्द्र हो, म त क्षेत्र को हो मेरो काम भनेको तलको मान्छेलाई अर्थात् नगर एरियाको साथीहरुलाई निर्देशन दिने मात्र हो । हामी सबै तहका साथीहरुले सबै भन्दा पहिला यो कुरा बुझ्नु पर्दछ कि टोल एरिया, नगर समिति राम्रो सँग चले पो माथिका समितिहरु चल्छन् । तलका समितिहरु राम्रोसँग चलेपछि मात्र उपल्लो समिति चल्छन् । तर फेरि अर्को कटु सत्य के हो भने–समिति आफै चल्दैन । समितिमा काम गर्ने सम्पूर्ण सदस्य हरुले आ–आफ्नो जिम्मा लिएको कामलाई समय भित्र गरेन भने संगठन चलायमान हुन सक्दैन । संगठन मात्र होइन समयको ख्याल गर्न नसके हामी आफु चल्न पनि मुस्किल पर्छ ।
हामीहरु कुनै भेला, या सम्मेलन गर्छौं । त्यसको लागि हामी सम्मेलन सम्पन्न गर्नका लागि तयारी समिति बनाउँछौं । मानौ नगर सम्मेलन को लागि एक महिना पहिले सम्मेलन तयारी समिति बनाउँछौं । तर त्यो समितिमा बस्ने सबै साथीहरूले आ आफ्नो जिम्मा लिएको कामलाई समयभित्र नगरे सम्मेलन हुन सक्दैन । त्यस कारणले हामीहरु जुन सुकै समितिमा काम गरे पनि, या जून सुकै जिम्मा लिए पनि आफ्नो जिम्माको काम समयभित्र नगरे हामीहरु कुनै काममा पनि सफल हुन सक्दैनांै । त्यसकारणले हरेक मान्छेले आफ्नो जीवनको महत्वसंगै समयको पनि उत्तिकै महत्व राख्नु पर्छ । दोस्रो कुरा हामी जुनसुकै समिति या संगठनमा रहेर काम गर्ने दौरान केन्द्र समितिको नीति र बिधानलाई मानेर काम गर्नुपर्छ । तर त्यो कुरो सीमित हामी बैठक बसेको बेला मात्र बोल्छौं । बैठकबाट निस्किएपछि हामीले आफ्नो जिम्माको त्यो काम बिर्सन पुग्छौं वा बिर्से जस्तो गरिदिन्छौं । अरु कुरा छाडौं, जस्तो बैठककै कुरा गरौं – हामी बैठकको समय दिन्छौं २ बजे । तर बैठकमा उपस्थित हुन्छौं ३ बजे । यसरी हामी आफैले बनाएको नियमलाई आफैं पालना गर्दैनौं । हामी कुरा गर्छौ– हामी सर्बहारा बर्गको मुक्तिका लागि काम गर्ने मान्छे हौ । तर हाम्रो बिचार पुँजीपति वर्गको हुन्छ । कसरी बढि भन्दा बढी पैसा कमाउने ? के गर्दाखोरी बढी आम्दानी गर्न सकिन्छ ? हाम्रो लगाव त्यता बढी हुन्छ । यो एक निम्न पुँजीवादी चिन्तन हो । यो चिन्तन हामी धेरैको दिल दिमागमा डेरा जमाएर बसेको हुन्छ । हाम्रो बिचार एकातिर र व्यवहार अर्को तिर हुन्छ । त्यो पनि हामीहरुले समयको नै सदुपयोग गर्न नजानेर हो । जसरी हामीले असोजमा रोपेको धान फलाउन सक्दैनौं किनभने धान त असारमा रोपिन्छ । भन्नुको अर्थ कुनै पनि कामको गर्नुपर्ने निश्चित समय हुन्छ । त्यो काम त्यो समयमा गरिएन भने त्यसको अर्थ रहँदैन । हामीले बुझ्नु पर्दछ प्रकृतिले पनि समयको पालना नगरि चल्न सक्दैन भने हामी त मानिस हौं ।
मानिस संसारमा सबै भन्दा बुद्धिजीवी प्राणी हो, संसारमा भएका सबै चीजहरू भनौं सबै जिब जन्तु समयको सदुपयोग गर्छन् भने मानिसहरू सबै प्राणी भन्दा बुद्धिजीवी भएर पनि किन समयको सदुपयोग नगर्ने ? यो निकै विचारणीय प्रश्न हो । भन्दा सामान्य जस्तो लाग्छ तर समयको महत्व असामान्य हुन्छ । संसारका धेरै मुलुकहरु सम्पन्नशाली हुनुको एक मुख्य कारण उनीहरुले समयको महत्वलाई समयमै बुझ्नु पनि हो । हामी पछाडि पर्नुको एउटा कारण समयको महत्वलाई बुझ्न नसकेर पनि हो । संगठनले गरेको निर्णयलाई त्यही समय सिमाभित्र हामीले सम्पन्न गर्न सक्यौं भने हाम्रो पार्टी संगठन पनि चलायमान हुन्छ । संगठनले गति लिन्छ र विशाल रुप ग्रहण गर्दै जान्छ । संगठन विशाल बन्यो भने क्रान्तिका लागि आत्मगत परिस्थिति पनि दरिलो हुन्छ । आत्मगत र बस्तुगत परिस्थिति निर्माण भयो भने हामीले समयमै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्छौं । समयमै नयाँ जनवादी क्रान्ति सम्पन्न हुन सक्यो भने हामी समाजवाद र साम्यवादको यात्रामा अघि बढ्न सक्छौं । यसरी हामीले बुझ्नु पर्दछ–बैठकको सामान्य समयको ख्याल गर्न सकेनौं भने त्यसको असर हाम्रो दीर्घकालिन लक्ष्यसम्म परिरहेको हुन्छ । त्यसैले सबै साथीहरुलाई मेरो एउटै अनुरोध छ– आज त्यस्तै भयो भोलिबाट ख्याल गरौंला समयको भन्ने होइन, आजैबाट समयको ख्याल र सदुपयोग गर्न थालौं । (लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समितिका सह सचिव हुन्)