राजनीतिको अतितमुखी यात्रा

  • शशिधर भण्डारी

युरोपमा सबभन्दा पहिले बौद्धिक क्रान्ति भयो । त्यसपछि औद्योगिक क्रान्ति भयो । त्यसपछि मात्र राजनीतिक क्रान्ति भएको देखिन्छ तर दक्षिण एशियामा बौद्धिकहरुले सुधारवादका कदमहरु उठाए । तर ती सुधारवादका कदमहरुले विचारधाराका आधारमा एउटा क्रान्तिका रुपमा विकास गर्न सकेनन् । अंग्रेजहरुले उपनिवेश कायम गरेका दक्षिण एशियाका मुलुकहरुमा विभिन्न उद्योगहरुको जग बसालेका थिए । त्यसमा भारत सबभन्दा अगाडि आउछ । तर भारतमा अंग्रेजहरुका कारणले भएको उद्योगहरुको विस्तारलाई औद्योगिक क्रान्तिका रुपमा परिभाषा गर्न मिल्दैन । भारतमा अंग्रेजहरुले उद्योगहरु स्थापना गरी कृषि उत्पादनमा पनि जोड लगाए । भारतमा अंग्रेजहरुको प्रवेश लुट्नका निमित्त भएको थियो । तिनीहरुले भारतको सम्पदामा धेरै लुटपाट मच्चाए । त्यसका साथसाथै अंग्रेजहरुले भारतमा पूँजीवादी प्रजातान्त्रिक संस्कृति र आधुनिक चिन्तन प्रणालीको पनि प्रवेश गराएका थिए । अंग्रेजहरुले प्रवेश गराएको आधुनिकता र प्रजातान्त्रिक संस्कृतिको परिणाम भारतमा सतिप्रथा, वर्ण ब्यवस्था, बालविवाह, विधवा विवाहमा बन्देज लगायतका कुरीतिहरुका बिरुद्धमा भारतीय समाजमा एउटा जागरण पैदा भएको देखिन्छ । यद्यपि त्यो जागरण र चेतनाको लहर क्रान्तिको तहमा उठ्ने वा उठाउने प्रकारको विश्व दृष्टिकोण र एउटा नयाँ चिन्तन प्रणालीको जगमा उभिएको थिएन । त्यो भारतीय सुधारवादी जागरणको प्रभाव नेपालमा पनि परेको थियो । जुन चेतना र जागरणले राणा शासनविरुद्ध जनमत सृष्टि गर्न धेरै सहयोग पु¥याएको देखिन्छ ।

राजा राममोहन राय, दयानन्द सरस्वती, रामकृष्ण परमहंश , स्वामी विवेकानन्द, महात्मा ज्योति, राम गोबिन्द फुले, डा. भीम राव अम्वेडकर आदि समाज सुधारकहरु पश्चिमा आधुनिक चेतनाको प्रभावले पैदा भएका ब्यक्तित्व हुन भन्न सकिन्छ । त्यसमा राजा राममोहन रायले त अंग्रेजको आगमन र नयाँ चेतनाको प्रवाहलाई एउटा बरदानका रुपमा अथ्र्याएका छन् । ५६५ भन्दा धेरै भारतका रियासतहरुलाई मिलाएर एउटै राज्य बनाउने विषय र अंग्रेजहरुले अगाडि ल्याएको आधुनिक चेतको विषयको आलोकमा हेर्दा भारतमा झण्डै तीन सय वर्ष उपनिवेश कायम गरेको अंगे्रजी साम्राज्यवादले भारतीय समाजमा नकारात्मक प्रकारले सकारात्मक योगदान पु¥याएको देखिन्छ । जुन कुरालाई आज पनि भारतका कैयन विश्लेषकले स्वीकार्छन् । नेपालमा राणा शासन कायम भएको अवस्थामा दयानन्द सरस्वतीको नेतृत्वमा स्थापना भएको आर्य समाज भन्ने संस्थाको स्थापना भएको थियो । सो संस्थाले राणा शासनबिरुद्धको संघर्षको जग बसाल्ने प्रश्नमा महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ । सहिद शुक्रराज शास्त्रीका पिता माधवराज जोशी नै आर्य समाजका नेता थिए । सहिद शुक्रराज शास्त्रीमा पनि त्यसको निकै ठूलो प्रभाव परेको थियो । यसरी नेपाल तथा भारतीय समाजको चेतनामा प्रजातन्त्र र आधुनिकताको सञ्चार गराएकोमा अंग्रेजी साम्राज्यवादको दक्षिण एशियामा प्रवेश वरदान थियो भन्न खोजिएको होइन । यो त एउटा नकारात्मक ऐतिहासिक परिघटनाभित्रको सकारात्मक योगदानको प्रसंग मात्र हो ।

अंग्रेजी साम्राज्यवादले दक्षिण एशियामा प्रवेश गरेर ठूलो लुट र अत्याचारका श्रृंखलाहरु मच्चायो । आफूले भारतीय उपमहाद्वीप छोड्नैपर्ने निश्चित भएपछि तिनीहरुले साम्प्रदायिक भावनालाई मलजल गरे । त्यसको परिणाम भारतमा हिन्दु र मुसलमानका बीचमा अत्यन्तै तिक्ततापूर्ण अन्तरबिरोध कायम हुँदै गयो । जुन धेरै दुःखद थियो । त्यही अन्तरबिरोधहरुको परिणाम सन् १९४७ मा भारत अंग्रेजी साम्राज्यबादबाट आजाद भयो । तर विशाल भारत मोहम्मद अलि जिन्नाको नेतृत्वमा मुस्लिमहरुको नयाँ देशको रुपमा पाकिस्तानको जन्म भयो । महात्मा गान्धीको नेतृत्वमा हिन्दुहरुको हिन्दुस्तान कायम रह्यो । अंग्रेजी साम्राज्यवाद हिन्दु मुस्लिम धार्मिक मतभेदमा खेल्नुको परिणाम नै भारत आजादीसँगै दुई टुक्रामा विभाजन हुन पुगेको थियो । त्यतिबेला पाकिस्तान र भारतको धार्मिक असभ्य युद्धमा पाँच लाख मान्छेको ज्यान गएको थियो । झण्डै एक करोड हिन्दुहरु पाकिस्तानमा बस्न नसकेर भारतमा बसाइ सर्न बाध्य भए । झण्डै ५० लाख मुसलमानहरु भारत छोडेर पाकिस्तानतिर लागे ।

भारतको हिन्दु समाजमा वर्ण व्यवस्था बिरुद्धको जागरणमा शिथिलता आयो । भारतको संसदीय प्रतिक्रियावादी ब्यवस्थामा वर्ण व्यवस्थाको जरो कायमै रह्यो । विभेदपूूर्ण वर्ण ब्यवस्थाबिरुद्ध क्रान्तिकारी सांस्कृतिक रुपान्तरण हुन सकेन । उता पाकिस्तानमा थोरै प्रतिशतमा रहेका हिन्दुहरुमाथि निर्मम दमनको नीति कायम रह्यो । लाखौं हिन्दुहरु दमनकै कारण इस्लाम धर्म अनुशरण गर्न बाध्य भए । त्यसो त स्वयं मोहम्मद अलि जिन्ना साहेव नै हिन्दुका नाति थिए । जिन्ना परिवार हिन्दु धर्म त्यागेर इस्लामीकरण भएको थियो । बिडम्बना, स्वतन्त्रता, समानता र विभेदहीनताको मार्गलाई अनुशरण गरेर अगाडि बढ्नुपर्ने भारत आज नरेन्द्र मोदीको नेतृत्वमा हिन्दु सांस्कृतिक राष्ट्रवादको दिशामा गइरहेको छ । यो पनि भारतीय राजनीतिको अतितमुखि यात्रा हो । यो नेपालका निम्ति पनि चिन्ताको कुरा हो । मोदी नेतृत्वको भाजपा सरकारले नेपालको राजनीतिलाई प्रतिगमनतिर मोडेर राजतन्त्रको पुनस्र्थापना र हिन्दु अधिराज्य घोषणाका निमित्त भूमिका खेलिरहेको देखिन्छ । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले घोषितरुपमा नै नेपालमा राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्रको घोषणाको पक्षमा मन्तव्य दिंदै हिडेका छन् । भारतको यस्तो प्रतिक्रियाबाट नेपालका राजावादीहरु उत्साहित भइरहेका छन् । राष्ट्रियताको नारा उछाल्ने राजावादीहरुले राजनीतिक र संस्थागत रुपमा एमसीसीको बिरोध गर्न सकेनन् । मोदी नेतृत्वको भारतले नेपालको सीमा मिच्ने, भूगोल अतिक्रमण गर्ने, नेपालको भूमिमा अनधिकृतरुपमा सडक र बाँधहरु बनाउने कामहरु गर्दै आएको छ । अहिले मोदी नेतृत्वको भारत हिड्ने कूटनीतिक मार्ग नेहरु मार्ग पनि होइन यो बल्लभ भाइ पटेल मार्ग हो । तर राजावादीहरुलाई यो पटेल मार्गमा हिड्दै गरेको भारतको विस्तारवादी खतरा भन्दा राजतन्त्रको पुनस्र्थापना र हिन्दु राज्य स्थापनाको चिन्ता छ । मुलुकले राजतन्त्रात्मक राष्ट्रियता व्यहोरेकै हो । राजावादीहरुले राष्ट्रियताको नयाँ जग बसाल्लान् भन्ने कुरा एउटा भ्रम मात्र हो । नेपालको परिदृश्यमा यस प्रकारको सांस्कृतिक राष्ट्रवाद निर्माणको दिशामा राजावादीहरुको यात्रा एउटा जात्रा जस्तो देखिन्छ । यो जात्राले लोकतान्त्रिक मूल्यहरुलाई मात्र होइन प्रगतिशील राष्ट्रवादलाई समेत जवरजस्त उपहासको विषय बनाउन खोजेको देखिन्छ ।

संसदीय पार्टीहरु कांग्रेस, एमाले माओवादी, मधेशवादी र सरकारी राष्ट्रिय जनमोर्चा राष्ट्रियताको रक्षाको प्रश्नमा चुक्दै आएका छन् । जुन कुरा कुनै पनि देशभक्तलाई सह्य भइरहेको छैन । तर यो राजनीतिक र कूटनीतिक असफलताको सकारात्मक विकल्प हिन्दु राष्ट्र, राजतन्त्रको पुनस्र्थापना र राष्ट्रिय प्रजातन्त्र पार्टी हुन सक्दैन । त्यसकारण जनताले प्रगतिशील र जनवादी राष्ट्रवादी शक्तिको पहिचान गरेर आफ्नो अभिमत जाहेर गर्न जरुरी छ । त्यसका निमित्त यो मुलुकमा एउटा सशक्त बौद्धिक क्रान्तिको खाँचो छ । तर दुःखको कुरा नेपालमा पनि आजको विकृतिको वैकल्पिक व्यवस्थाको रुप अतितमुखी राजनीतिमा खोजिदैछ । जुन इतिहासको गतिसित मेल नखाने कुरा हो ।

इतिहासमा हिन्दु धर्मभित्रको रुढीवाद, अन्धविश्वास, वर्णव्यवस्था र सतिप्रथा आदिका विरुद्धमा जति सुधारात्मक संघर्षहरु भएका छन् तर त्यसका साथ साथ लोकतन्त्र र आधुनिकताका बिउहरु पनि रोपिएका थिए । तीनको समेत उपहास गर्ने दिशामा दक्षिण एशियाकै राजनीति प्रभावित हुन थालेको देखिन्छ । मुस्लिम कट्टरपन्थको आफ्नै कथा छँदैछ । त्यसकारण यो सांस्कृतिक राष्ट्रवादको खतरनाक धारका बिरुद्धमा बौद्धिक प्रतिरोध र बौद्धिक क्रान्ति आजको समयको माग हो । औद्योगिक क्रान्ति पनि नभएको, बौद्धिक क्रान्ति पनि नभएको नेपाल जस्तो मुलुकमा यो विषय धेरै पेचिलो बन्दोरहेछ । नेपालमा राजनीतिक क्रान्ति मात्र भयो जसले मान्छेको चिन्तन प्रणाली फेर्न सकेन । राजनीतिक नेतृत्वकै सिद्धान्त अनुरुप चिन्तनप्रणाली निर्माण हुन सकेन । त्यसको दुष्परिणाम आम देश र जनताले भोग्नु परिरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित